भुकम्पपछि बन्द रहेको तातोपानी नाका बैशाख १८ बाट खुल्ने

  • प्रकाशित मिति : बुधबार, पुस ४, २०७५
  • Tourism Sanchar

सिन्धुपाल्चोक , पुस ४ । नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार आगामी वैशाख १८ देखि सञ्चालनमा आउने भएको छ । २०७२ को भूकम्पपछि तातोपानी नाका बन्द रहेको नाका सञ्चालनका लागि यतिबेला सीमा क्षेत्रमा तीव्र गतिमा काम भइरहेको छ । आगामी वैशाखबाट नाका सञ्चालन हुन लागेको चिनियाँ उच्च स्रोतले जानकारी दिएको छ ।

काठमाडौँबाट १११ किलोमिटर उत्तरपश्चिममा अवस्थित तातोपानीका बासिन्दा नाका बन्द भएपछि मारमा परेका थिए । सडक विभागका अधिकारीका अनुसार चीनले आफ्नोतर्फको सडकलगायत भन्सार पूर्वाधारको निर्माणमा तीव्र गतिमा काम गरिरहेको छ । चीनले विशेष महत्वका साथ नाका सञ्चालनका लागि काम गर्न थालेपछि नेपालतर्फको सडक मर्मतका लागि सडक विभागलाई सरकारले तताएको हो ।