ट्र्याक खुला भएपनि तुइनबाटै तारिन्छ सवारी साधान

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २८, २०७५
  • Tourism Sanchar

जाजरकोट, मंसिर २८ । डोल्पा सडकखण्डको ट्र्याक खुला भए पनि हाल सञ्चालनमा रहेका यातायातका साधन तुइनमा तारेर सञ्चालनमा ल्याइएको छ । जाजरकोट नलगाड नगरपालिका–१२ को तल्लुबाट रुकुम पूर्वको गोतामकोट अनाहबीच रहेको भेरी नदीमा तुइनबाट यातायातका साधन तारेर सञ्चालनमा ल्याइएको छ ।

त्यस्तै डोल्पाको त्रिपुरकोट नगरपालिका–५ खदाङमा तुइनबाटै तारेर खदाङदेखि त्रिपुरकोटसम्म जीप तथा ट्र्याक्टर सञ्चालनमा ल्याइएको छ भने त्रिपुरकोट बगरबाट जुफाल जोड्नका लागि बीचमा रहेको भेरी नदीमा पनि तुइनको सहायतामै सवारी साधान तारिने गरिन्छ ।

सेनाको पहलमा यातायातका साधन तुइनबटै तार्ने व्यवस्था मिलाइएको होे । यस सडकखण्डमा सेनाले जोखिम मोलेरै निर्माणका सामग्री ल्याउनाका साथै सडक निर्माण जारी राखेको निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले बताउनुभयो । निर्माण थालिएको ११ वर्षपछि जाजरकोट डोल्पा सडकखण्डको ट्र्याक मात्र खुला भएको हो । स्तरोन्नति काम भने जाजरकोट खण्डमा शुरु भए पनि डोल्पा खण्डमा पुरै बाँकी छ ।