एसियाकै अग्लो झरनामा पानी सुक्दै

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २८, २०७५
  • Tourism Sanchar

तेह्रथुम,मंसिर २८ । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका वडा नं ४ र ५ को सिमानामा रहेको नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुकेको छ । झरना हेर्न र रमाउनका लागि पुगेकाहरु अहिले निराश भएर फर्कने गरेका छन् ।

ह्यातुङ पनि भनिने तीनसय ६५ मिटर अग्लो उक्त झरनाको अस्तित्व खतरामा परेको विषयमा विभिन्न समयमा चर्चा हुने गरेपनि झरनाको संरक्षणमा सम्बन्धित निकायको ध्यान पुगेको छैन । झरना पूर्णरुपमा सुकिहाल्ने अवस्था त हैन, तर आसपासमा सिँचाइका लागि पानी लगिएपछि अहिले झरनामा पानी खसेको छैन।

दक्षिण एशियाकै आकर्षक र अग्लो यो झरनामा आवश्यक पूर्वाधार विकास र प्रचारप्रसारमा लगानी गर्न राज्यले उदासीनता देखाउँदा अस्तित्व नै मेटिने खतरा बढेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । झरनाको संरक्षण गरेर प्रचारप्रसार गर्न सके पर्यटकको ओहोरदोहोर बढ्न सक्ने सम्भावना उच्च छ । तर त्यसतर्फ कसैले पनि ध्यान नदिएको स्थानीयवासी गुनासो गर्छन। त्यहाँ आसपास रहेको बस्तीमा होमस्टे सञ्चालनको सम्भावना उच्च छ ।