सबैले सेल्फि लिने गेट बनेको छ शंकराचार्यद्वार पार्क गेट

  • प्रकाशित मिति : बुधबार, मंसिर २६, २०७५
  • Tourism Sanchar

वीरगन्ज,मंसिर २६ । वीरगन्ज–रक्सौल सीमा क्षेत्रमा रहेको शंकराचार्यद्वार पार्क गेट अहिले सबैको सेल्फि लिने स्थल बन्न थालेको छ ।
वीरगञ्ज रक्सौलको मितेरी पुल कटेसँगै मुख्य सडकमा शंकराचार्य गेट सौन्दर्यको प्रतीक बन्दै गएको हो । संरक्षण र मर्मत संभारको नहुँदा गेटमा झार उम्रिसकेको थियो भने सीमा क्षेत्रमा फोहोर फाल्ने गरेका कारण गेट परिसर दुर्गन्धित समेत रहेको थियो । अहिले सेल्फी स्पटको रुपमा परिणत भएको छ । वीरगन्ज महानगरपालिकाले शंकराचार्यद्वारको जीर्णोद्धार र रंगरोगन गरेसंगै यो द्धार अहिले स्वदेशी र विदेशीका लागि सेल्फीस्थल बनेको हो ।

महानगरपालिकाको पहलमा गेटलाई रंगरोगन र सौन्दर्यीकरण गराएसँगै यो सेल्फी साइटका रुपमा परिणत भएको छ । नेपालकै पहिचान बोकेको शंकराचार्य गेटमा अहिले महानगरपालिकाले अगाडि नेपालको राष्ट्रिय झण्डा समेत स्थापना गरेकाले नेपालीपन अझ बढी झल्किएको छ ।

भारतबाट नेपाल आउने जोकोहीलाई स्वागत गर्न उभिएको यस गेटमा डिजिटल बत्तीको समेत जडान गरिएको छ ।