मनोकांक्षा पुरा हुने विश्वास गरिएको पाल्पाको भैरवनाथ मन्दिरमा दैनिक हजारौँ भक्तजनहरुको घुईचो

  • प्रकाशित मिति : सोमवार, मंसिर २४, २०७५
  • Tourism Sanchar

पाल्पा,मंसिर २४ । आफूले चिताएको मनोकांक्षा पुरा हुने विश्वास गरिने पाल्पाको भैरवनाथ मन्दिरमा दैनिक हजारौँ भक्तजनहरुको घुईचो लाग्ने गरेको छ ।

सेनकालीन समयदेखि नै भैरव देवतालाई ईष्ट देवताको रुपमा पूजा गरिदैँ आइएको पाल्पाको रिब्दिकोट गाउँपालिका–४ भैरवस्थानमा रहेको भैरव मन्दिरमा दैनिक हजारौँ भक्तजनहरुले मन्दिरको दर्शन गरेर फर्किने गरेका छन ।

अहिले यो मन्दिरमा पूजा गर्न पाल्पा, नवलपरासी, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, रुपन्देही, कपिलबस्तु, दाङ, बर्दिया, बाँके, नेपालगन्जका साथै भारतबाट समेत भक्तजन पुग्ने गरेको स्थानियहरुले बताउने गरेका छन ।

परापुर्वक कालमा नेपाल र तिव्वतबीचको युद्धमा पाल्पाली सेन राजाले काठमाडौंलाई सेना तथा हातहतियार सहयोग गरी तिव्वत युद्ध जितेका थिए । युद्धमा सघाएको भन्दै मल्ल राजाले मणिमुकुन्द सेन राजालाई उपहार स्वरुप ईष्ट देवता भैरव प्रदान गरेको किम्वदन्तीमा देख्न सकिन्छ । सोही समयदेखि नै सेन राजाले उक्त भैरव पाल्पामा ल्याई ईष्ट देवताको रुपमा पूजा सुरु गरेको बताइने गरिएको छ ।

मंसिरमा नयाँ धान भित्राउने बेला नयाँ चामलको रोटी र बैशाख महिनामा नयाँ गहँुको रोटी चढाउँदा भैरव देवता खुसी हुने जनविश्वास रहँदै आएको र मनोकामना पुरा हुने जनविश्वास रहँदै आएको छ ।