सरकार ! हामी तिहारमा टिका लगाउन गाउँ जान नपाउने हो ?

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक २०, २०७५
  • Tourism Sanchar

तिहारमा काठमाण्डौ बाहिर जाने यात्रुलाई टिकट पाउन सास्ती

जि.पि.पौडेल /काठमाण्डौ,कात्तिक २० ।  दसैंको तुलनामा तिहारमा गाउँ जाने व्यक्ति थोरै भएपनि टिकट नपाउँदा काठमाण्डौ बाहिर जाने यात्रुहरुलाई सास्ती भएको छ । यातायात व्यवस्था विभागले दसैंमा काठमाडौंबाट बाहिरिनेका लागि टिकट तथा बसको सहजीकरण गरे पनि तिहारमा भने कुनै पहल नगरेकोले बाहिर जाने यात्रुलाई कष्ट भएको हो ।

पुरानो तथा नयाँ बसपार्कबाट दैनिक सयौं मानिस टिकटको लागी लाईन बस्ने गरेको र नपाई फर्किने गरेको बसपार्क यात्रुको भनाइ रहेको छ । गोरखाका आशिष न्यौपाने यसपाली टिका लागाउन पोखरा जानुपर्ने तर राम्रो सिट नपाएको बताएका छन । त्यस्तै पर्वतका हेमन्त पनि टिका लगाउन पोखरा जानुपर्ने र आफु बिरामी भएकोले गाडीमा जान नसक्ने बताए । उनले एक हप्ता अगाडी बुद्ध एयर तथा यती एयरलाईन्सको टिकट खोजेका थिए तर अरु समय भन्दा यसपाली पहिले नै सबै टिकट सकिएको र आफुले ३४०० मा टिकट लिएको बताए ।
यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यकुमार ढकालले दसैंको तुलनामा तिहारमा काठमाडौंबाट बाहिरिने थोरै यात्रु हुने भएकाले कम मात्र बस चलेको बताउँछन् । यातायात कम्पनीहरुले बस अभाव भएको जानकारी गराए थप गाडी झिकाउन कुनै समस्या नहुने ढकालको भनाइ छ ।
महानगरीय ट्राफिक व्यवस्थापन महाशाखाका अनुसार तिहारमा दैनिक पाँचदेखि छ हजार यात्रु बाहिरिने गरेको बताउँदै यात्रुको चाप धेरै नरहेको जानकारी दिएको छ ।

विभिन्न यातायात कम्पनीले अनलाइनमार्फत् तथा सिधै टिकट काउन्टरबाट टिकट बितरण गरेको बताएपनि यात्रुहरुले टिकट नपाएको गुनासो गरेका छन् ।
अहिले काठमाडौंको बसपार्क बाहेक कोटेश्वर तथा कलङ्कीबाट बस, टाटा सुमो, माइक्रो, लगायतका सवारीसाधनबाट बढी भाडा तिरी तिहार मनाउन जानेको यात्रुहरुको लर्को रहेको छ ।