हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक शुरु,कागेश्वरी मन्दिरमा भक्तजनको भीड

  • प्रकाशित मिति : सोमवार, कार्तिक १९, २०७५
  • Tourism Sanchar

काठमाडौँ, कात्तिक १९ ।  प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ ।

चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।

यम यातनाबाट मुक्ति पाउन आजैदेखि घरघरमा परिवार सङ्ख्याका आधारमा यमदीप दान गर्ने विधि छ । यमदीप दान बेलुकी गर्ने प्रचलन रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

पहिलो दिन काग तिहार, कागेश्वरी मन्दिरमा भक्तजनको भीड

यमपञ्चकको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीमा काग तिहार मनाइन्छ । यस दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय परम्परा छ । आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा काग रुपी महादेवलाई पूजा गर्ने भक्तजनको भीड लाग्छ ।

आजका दिन यहाँ आई कागरुपी महादेवको पूजा तथा आराधना गरेमा काग स्पर्शबाट हुने अनिष्टबाट बचिने धार्मिक विश्वास छ।

आज यहाँ लाग्ने मेलाको विशेष धार्मिक एवं सांस्कृतिक महत्व रहेको बताइन्छ। किंवदन्तीअनुसार परापूर्वकालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेको गोठालाले देखेपछि त्यहाँ खोस्रेर हेर्दा महादेवको मूर्ति फेला परेकाले त्यसैबेलादेखि वर्षेनी यहाँ मेला लाग्दै आएको हो।

उक्त मेलामा हिन्दू र बौद्ध धर्मावलम्बीसमेत लाखौँको सङ्ख्यामा भीड लाग्ने गर्छ। सत्ययुगमा सतीदेवीको अङ्ग पतन भएर यहाँ एक शिवलिङ्ग उत्पन्न भएको भनाइ स्वस्थानी व्रत कथामा उल्लेख छ। कागेश्वरी महादेवको मन्दिरमुनि र माथि रहेको छहरा एवं झरनाले यहाँ आउने जोसुकैको मन लोभ्याउँछ।

यस क्षेत्रबाट उपत्यकाको दृश्यावलोकनसमेत गर्न सकिन्छ। यस अवसरमा वसन्तपुरस्थित कागेश्वरी मन्दिरमा पनि बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेका छ।

कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म हिन्दूको दोस्रो ठूलो पर्वका रुपमा दीपावलीअर्थात् तिहार मनाउने गर्छन् । यी पाँच दिन पृथ्वीको शासन बलि राजाले गर्नुहुने पौराणिक मान्यता छ । बलि दानशील राजा थिए । वामन रुप लिई भगवान् विष्णुले तीन पाइला जमीन माग्दा पातालमा भासिनुपरेको कथा विभिन्न पुराणमा वर्णन गरिएको छ ।

समितिले यस वर्षको भाइटीकाको साइत कात्तिक २३ गते शुक्रबार मध्याह्न ११ बजेर ५५ मिनेटमा उत्तम हुने निर्णय गरेको छ । समितिले शुभ बेलाको साइत दिएको जनाइएको छ । कात्तिक २३ गते भाइटीका लगाएपछि दोस्रो ठूलो चाड तिहार सकिन्छ ।