गौरादह क्षेत्रलाई पर्यटकीय गन्तव्यमा सुचिकृत गरेपछि किसानहरु खुसी

  • प्रकाशित मिति : सोमवार, कार्तिक १९, २०७५
  • Tourism Sanchar

भुवनराज उप्रेती / टुरिजम संचार झापा, कात्तिक १९ । सरकारले पर्यटकिय सम्भावना बोकेका १०० नयाँ पर्यटकिय गन्तव्यहरुको पहिचान, प्रवद्र्धन र प्रचारप्रसार गर्ने कार्यक्रम अन्तर्गत झापाबाट ’गौरादह कृषि पर्यटन’ क्षेत्रलाई नयाँ पर्यटकिय गन्तव्यको रुपमा घोषणा गरेको छ ।
गौरादह नगरपालिकामा साना किसान कृषि सहकारी संस्थाद्वारा संचालित नमुना एकिकृत खेतीलाई नयाँ सम्भावना बोकेको पर्यटनको रुपमा छनोट गरिएको हो ।
संस्थाले नमुना एकीकृत सहकारी खेती र जागृति एकीकृत सहकारी खेतीमार्फत सामूहिक खेती प्रणालीलाई विकास गरी हाल एक सय हेक्टर बढी क्षेत्रफलमा एकीकृत खेती गर्दै आएको छ ।

नयाँ पर्यटकिय क्षेत्रलाई स्थानिय सरकार,स्थानिय बासिन्दा,निजी क्षेत्रहरुसँग समन्वय गरी थप प्रचारप्रसार र प्रवद्र्धन गरिनेछ ।
पर्यटकिय क्षेत्रको रुपमा घोषित भएसङै कृषकहरुमा नयाँ उर्जा थपिएको नगरपालिका प्रमुख रोहित कुमार शाहले बताए ।
कृषकहरुका साझा समस्या पहिचान गरी,ती समस्याहरुको समाधान गर्दै कृषिलाई जिविकोपार्जनको माध्यमबाट माथि उठाई व्यावसायिक कृषितर्फ किसानलाई आकर्षित गर्ने खालका कार्यक्रम नगरपालिकाले ल्याउने उनले बताए ।

साथै गौरादह १ स्थित ११ बिगाहा क्षेत्रफलमा फैलिएको माछापोखरीलाई आधुनिक ढंगबाट विभिन्न प्रजातीको माछा उत्पादन गर्नेगरी सन्चालन गर्न लागिएको समेत शाहले बताए ।
गौरादहमा यसै वर्षदेखि त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा कृषि क्याम्पस समेत सन्चालनमा आएको छ ।

गौरादह कृषि पर्यटन क्षेत्रसङै सरकारले झापाबाट शहिद नेत्रलाल पार्क विर्तामोड र अर्जुनधारा क्षेत्रलाई नयाँ पर्यटकिय सम्भावना बोकेको गन्तव्यको रुपमा घोषणा गरेको छ । यी क्षेत्रको विकासमा यसै बर्षबाट बजेट खर्च गरिनेछ ।