पुर्वको पशुपतिनाथ र यसको किम्वदन्ती

  • प्रकाशित मिति : आइतवार, कार्तिक १८, २०७५
  • Tourism Sanchar

भुवनराज उप्रेती / टुरिजम संचार ,झापा । पुर्वको पशुपतिनाथको नामले प्रसिद्द अर्जुनधारा जलेश्वर धाम धार्मिक तथा ऐतिहासिक महत्व बोकेको एक पर्यटकीय तीर्थस्थल हो । झापा जिल्लाको शनि-अर्जुन नगरपालिकामा अवस्थित यो तीर्थस्थलमा प्रत्येक बर्ष श्रावन महिनाभर विशेष मेला लाग्ने गर्दछ ।

प्राचीन किम्वदन्ती अनुसार महाभारत कालमा पाण्डवहरु यही ठाउँमा गुप्तबास बसेको उल्लेख छ । कौरवहरुले उक्त स्थान पत्ता लगाई पाण्डवहरुको गुप्तबास भंग गर्न राजा विराटका नौ लाख गाईहरु हरण गरि लगेका थिए। कौरवहरुले गाई हरण गरेको स्थानलाई गौ हरण भनियो,पछि यसको अप्रभंस भई गोरुवा हुँदै गरुवा भएको बताईन्छ । जुन स्थान हाल ईलाम जिल्लाको दानाबारी गाविसमा पर्दछ । हरण गरेर लगेका गाईहरु कौरव पक्षले ईलाम हुँदै गुहाटी (हाल भारतको आसाम राज्यको गुहाटी) पुर्याएका थिए।

पाण्डवपक्षका वीर योद्धा बृहन्न्ला (नपुसक) का रुपमा लुकेर बसेका अर्जुनले कौरवसंग युद्ध गरि लुटिएका गाई फर्काउने क्रममा गाई अत्यन्तै तिर्खाएको पाएपछी जलदेवता तथा भगवान शिवको आराधना गरि जमिनमुनि प्रज्रन्य अस्त्र अर्थात पानी निकाल्ने वाण प्रहार गरि पानी निकाली गाईहरुलाई खुवाएको स्थानको रुपमा यश स्थललाई लिईन्छ। उक्त वाणको प्रभावले यहाँ निरन्तर धाराको रुपमा पानी बगिरहेको हुनाले यसलाई अर्जुनधारा जलेश्वरधाम भनी नामाकरण गरिएको हो भन्ने पौराणिक किवदन्ती पाईन्छ ।

अर्जुनधारा क्षेत्र परिसरभित्र अर्जुनले वाण हानी पानी निकालेको प्राचीन पोखरी छ भने पोखरीकै बीचमा अर्जुनले गाईलाई पानी खुवाईरहेको मुर्ति स्थापना गरिएको छ ।  सातकुने उक्त पोखरीको दक्षिणतर्फ पञ्चधातुबाट निर्मित ५ वटा धाराहरु छन जसबाट निरन्तर चिसो पानी बगिरहन्छ । महाशिवरात्री,बालाचतुर्दशी,कृष्णजन्माष्टमि,माघे सङ्क्रान्ति आदि पर्वमा विशेष घुईचो लाग्ने यस स्थानको धार्मिक तथा प्राचीन महत्वको बारे उचित प्रचारप्रसार गर्न सके पुर्वको पर्यटन प्रवर्द्धनमा विशेष टेवा मिल्ने देखिन्छ ।