भ्रमण वर्ष २०२० को राष्ट्रिय संयोजकमा वैद्य नियुक्त, को हुन संयोजक तोकिएका वैद्य ?

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १६, २०७५
  • Tourism Sanchar

टुरिजम संचार संवाददाता / काठमाण्डौ,कात्तिक १६ । नेपाल भ्रमण वर्ष २०२० सुरु हुन १४ महिना मात्र बाँकी रहँदा सरकारले उद्योगी सुरज वैद्यलाई राष्ट्रिय संयोजकको जिम्मेवारी दिएको छ । भ्रमण वर्ष २०२० घोषणा गरेको करिब ६ महिनापछि ३ बर्षे कार्यकाल रहनेगरी राष्ट्रिय संयोजकमा उद्योगी वैद्यलाई नियुक्त गरेको हो ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्याति कमाएका वैद्यलाई सरकारले राष्ट्रिय संयोजक बनाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

को हुन संयोजक तोकिएका वैद्य ?

विक्रम संवत् २०१९ काठमाडौंमा जन्मिएका वैद्यले दार्जिलिङमा विद्यालयस्तरको पढाइ र जर्ज मेसन विश्वविद्यालय अमेरिकाबाट एमबीए पास गरेका छन् । सन् १९८४ बाट व्यावसायिक करिअर सुरु गरेका उद्योगी वैद्य नेपाल उद्योग वाणिज्य महासङ्घमा २५ वर्षदेखि आबद्ध छन् । सार्क चेम्बर टुरिजम काउन्सिल कमिटीका पूर्वसभापतिसमेत रहेका उनी वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसका प्रेसिडेन्ट हुन् ।

वैद्य सार्क उद्योग वाणिज्य सङ्घका निर्वतमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष समेत हुन । त्यस्तै वैद्य ओबीओआरको सदस्य तथा प्रधानमन्त्री केपी ओलीले बनाएको उद्योगसम्बन्धी समितिका सदस्यसमेत हुन् । वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसका प्रेसिडेन्ट हुन् । यो कम्पनीमार्फत अटोमोबाइल, कृषि, पोल्ट्री, दानालगायत उद्योग सञ्चालित छन् । वैद्य परिवारले नै करिव ५५ वर्षअघि नेपालमा पहिलो पटक टोयोटा गाडी भित्राएको थियो ।

राष्ट्रिय संयोजक चयन हुन नसक्दा भ्रमण वर्षका कुनै पनि कार्यक्रम सार्वजनिक हुन सकेका छैनन् ।