अब नेपालगन्ज विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान

  • प्रकाशित मिति : बुधबार, अशोज ३, २०७५
  • Tourism Sanchar

नेपालगन्ज ।  नेपालगन्जको राँझास्थित विमानस्थलबाट पनि एक बर्षभित्रै अन्तर्राष्ट्रिय उडान हुने भएको छ। हाल आन्तरिक विमानस्थलको रुपमा रहेको राँझा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने गरी तयारी सुरु भएको हो।

अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक अन्तर्राष्ट्रिय टर्मिनल भवन, पार्किङ वे, इमिग्रेसन, कस्टम, एक्सरे मेसिन, सिसिटिभि क्यामेरा लगायत आवश्यक पूर्वाधारको तयारी सो विमानस्थलले गरेको छ। विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरका अनुसार, यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको डिजाइन तयारी भइसकेको छ।

‘डिजाइन पूर्णरुपमा तयार हुन २ महिना लाग्नेछ’ ठाकुरले भने, ‘कार्तिकमा डिजाइन तयार भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणमा पेस गरिनेछ।’ डिजाइनमा विमानस्थलको टर्मिनल भवन, भौतिक पूर्वाधारले ओगट्ने क्षेत्रफल, बजेट लगायतका विषय समेटिनेछन्।

विमानस्थलले तयार पारेको डिजाइन प्राधिकरणलाई पेस गरेपछि टेन्डरको प्रक्रिया सुरु हुनेपनि विमानस्थल प्रमुख ठाकुरले  बताए। यी सबै कार्य सम्पन्न भएपछि अन्तर्राष्ट्रिय उडान गर्न करिव एक बर्ष लाग्ने लाग्ने जानकारी पनि ठाकुरले दिए।

सरकारले नेपालगन्ज लगायत जनकपुर, विराटनगर र धनगढी विमानस्थलको स्तर उन्नति गरेर क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा परिणत गर्ने योजना बनाएको छ।

यीमध्ये नेपालगन्जबाट दिल्ली उडान गर्न बुद्ध एयरले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट स्वीकृतिसमेत पाइसकेको छ।बुद्ध एयरले १७ पुष देखि लागु हुनेगरी नेपालगञ्ज–नयाँदिल्लीका रुटमा दैनिक ३ वटा उडानको स्वीकृति पाएको हो। हालको आन्तरिक टर्मिनल भवनबाट अन्तर्राष्ट्रिय उडानका लागि योग्य नभएपछि अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने योजना बनाइएको हो।

यसै आर्थिक बर्ष प्राधिकरणले विमानस्थलका लागि १ करोडको हाराहारीमा बजेट विनियोजन गरेको छ। तर यति रकम अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न अपर्याप्त छ।

त्यसैले हालका लागि डिजाइन तयार गरेर प्राधिकरणसँग लाई बजेट माग गर्ने योजना विमानस्थलको छ। हाल नेपालगन्ज विमानस्थलबाट पश्चिम र सुदुर पश्चिमी नेपालका दुर्गम क्षेत्रमा उडान हुँदै आएको छ।

यो विमानस्थलामा हाल एटिआर–७२ विमानका लागि २ वटा पार्किङ वे रहेका छन्, जुन अन्तर्राष्ट्रिय उडानका लागि पर्याप्त छैनन्। त्यसैले, एटिआर ७२ विमान अट्ने गरी ५ वटा पार्किङ वे निर्माण गर्न प्राधिकरणले टेन्डर आव्हान पनि गरिसकेको छ।

आन्तरिक उडानका लागि नेपालगञ्ज विमानस्थलको धावनमार्ग १ हजार ५ सय ५ मिटर लामो छ। विमानस्थलका प्रमुख ठाकुरले भने, ‘संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसँगको छलफलमा धावनमार्ग ५ सय मिटर बढाएर २ हजार मिटरको बनाउने निर्णय भएको छ।’

नेपालगन्ज विमानस्थबाट पर्यटकीय मौसममा ९० बढी र अन्य समय ४४ को हाराहारीमा उडान तथा अवतरण हुने गरेका छन्। काठमाडौँ–नेपालगन्ज हवाई रुट अन्तर्गत नेपाल वायुसेवा निगम, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, यति एयरलाइन्स, बुद्ध एयरलले उडान गर्दै आएका छन।

यसैगरी नेपालगन्जलाई आधार बनाएर जुम्ला, बाजुरा, सिमिकोट, रारा र डोल्पा लगायतका स्थानमा उडान हुने गरेका छन्। उपरोक्त दुर्गम क्षेत्रमा तारा एयर, सिता एयर र समिट एयरले उडान गर्दै आएका छन्। नेपालखबरबाट