मंसिरसम्म पोखरालाई पर्यटनको राजधानी बनाइने मन्त्री लम्सालको घोषणा

  • प्रकाशित मिति : सोमवार, अशोज ८, २०७५
  • Tourism Sanchar

पोखरा, असोज ८ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरालाई मंसिरसम्ममा पर्यटनको राजधानी घोषणा गरिने घोषणा गरेका छन् ।

पोखराका पर्यटन सम्बन्धी संघसंस्थाहरुको छाता संस्था पोखरा पर्यटन परिषदको १५ औं अधिवेशन तथा १८ औं साधारणसभाको उद्घाटन कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै मन्त्री लम्सालले पोखरालाई पर्यटनको राजधानी बनाउने तयारी सुरु भएको र मंसिर मसान्तसम्ममा राष्ट्रपति र प्रधानमन्त्रीको उपस्थितिमा घोषणा गरिने बताए ।

उनले पोखरालाई पर्यटनको राजधानी बनाउनका लागि पहिले पूर्वाधार निर्माण गर्नुपर्ने बताउँदै त्यसपछि सातै प्रदेशको सम्मेलन गरेर त्यहाँ गण्डकी प्रदेश सरकारको तर्फबाट पोखरालाई पर्यटनको राजधानी बनाउन प्रस्ताव गर्ने र सबैको सहमतिमा पारित गर्ने बताएका थिए ।
सातै प्रदेशको सहमतिपछि संघीय सरकारको मन्त्री परिषद बैठकबाट निर्णय गराउने तयारी भएको बताए । पोखरालाई पर्यटनको राजधानी घोषणा गरेमा होटल संघले तत्काल २ सय होटल खोल्ने प्रस्ताव ल्याएको उनले दाबी गरे ।

यसअघि होटल संघले एक महिनाअघि पोखरालाई पर्यटनको राजधानी बनाउनुपर्ने भन्दै पोखरामा आएर अन्र्तक्रिया गरेको थियो ।