हरितालिका तीजको महिमा : यसकारण पुरुष पनि बस्दछन तीजको ब्रत

जि.पि.पौडेल / काठमाडौँ, भदौ २७ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्व आज देशभर मनाइएको छ । आज बिहानैदेखि नेपाली हिन्दु महिला दिदी बहीनी तथा पुरुषहरुले पनि निराहार ब्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेर तिज पर्व मनाइएको हो ।

बिबाहित महिलाले श्रीमानको दीर्घायु एंवम यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता र विश्वास रहदै आएको छ । नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार अटल सौभाग्यको कामना, सन्तान प्राप्ति, अविवाहित केटी एवं केटाहरुले असल वर र वधू प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको छ । गौतमका अनुसार ‘निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम रहेका र सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुने गर्दछ ।

सत्ययुगमा हिमालयपुत्री पार्वतीले काठमाण्डौको पशुपती क्षेत्रको गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने कामना गरेकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि पार्वती समस्यामा परेको उनका साथीहरुले उनलाई हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिएको किम्बदन्ती रहदै आएको छ । पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिकाको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रमा रहेको छ । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरेकी थिइन । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास गर्ने गरीन्छ ।

सोही अवसरमा पशुपतिनाथ मन्दिर लगायत देशभरका शिब मन्दिरहरुमा मा पूजा एवं दर्शन गर्ने भक्तजनको आज बिहानैदेखि भीड लागेको थियो । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको थियो । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनहरु बढीनै पशुपति क्षेत्रमा देखिएका थिए ।
पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वरलगायत देशभरका शिव मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको थियो ।