प्रदेश न ५ भित्र रहेका प्रमुख पर्यटकीय स्थलहरुमा एन्टोजको अवलोकन

  • प्रकाशित मिति : सोमवार, भदौ ११, २०७५
  • Tourism Sanchar

भुवन कार्की/ रूपन्देही,भाद्र ११ । पर्यटनको क्षेत्रमा कलम चलाउदै आएका प्रदेश नं. ५ का दुई दर्जन पत्रकारहरुले नवलपरासी (पश्चिम) का विभिन्न प्रमुख ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गरेका छन् । नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) प्रदेश नं. ५ को कार्य समिति र नवलपरासी शाखाका सदस्यहरुले शुक्रबार र शनिबार पर्यटन क्षेत्रका महत्वपूर्ण स्थलहरुको अबलोकन गरेका हुन् ।

अवलोकनका क्रममा पत्रकारहरुले स्थानीय नेता, जनप्रतिनिधि तथा समाजका अगुवाहरुसंग ती पर्यटकीय क्षेत्रको विकासकाबारे छलफल समेत गरे । पर्यटकीय क्षेत्रका ऐतिहासिक तथा धार्मिक प्राचीन मान्यता अनुरुप ती क्षेत्रको विकासमा स्थानीय सरकारहरुले के गरिरहेका छन् भन्नेबारे सोधखोज गर्न पत्रकारहरु नवलपरासी पुगेका हुन् ।

प्रदेश नं. ५ का १२ जिल्लामध्ये पहिलो पटक नपलपरासीका पर्यटकीय क्षेत्र अवलोकन गर्न पुगेका पत्रकारहरुले जिल्लाको सुस्तादेखि सुनवलसम्मका मुख्य स्थलहरुको प्रत्यक्ष अध्ययन भ्रमण गरेको नेपाल पर्यटन पत्रकार संघ नवलपरासीका अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो ।

जिल्लाको सुस्ता गाउँपालिकास्थित ऐतिहासिक स्थल चुहाडी, पालिनन्दन गाउँपालिकाको धार्मिक स्थल पालिभगवती मन्दिर, बर्दघाट नगरपालिकाको बुद्धमंगल ताल, सुनवल नगरपालिकाको बाबा बर्दगोरिया धाम र रामग्राम नगरपालिकाको रामग्राम स्तुपमा आयोजना गरिएका छलफल कार्यक्रममा सरोकारवालाहरुले यी पर्यटकीय क्षेत्रको विकासको लागि स्थानीय, प्रदेश तथा केन्द्र सरकारले दीर्घकालिन गुरुयोजना बनाएर काम थाल्नुपर्ने बताए ।

गौतमबुद्धको अष्टधातु रहेको रामग्राम नगरपालिकास्थित रामग्राम स्तुपमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रदेश नं. ५ का सांसद बैजनाथ जयसवालले भन्नुभयो, ‘यस रामग्रामको सीधा सम्बन्ध लुम्बिनीसंग छ, लुम्बिनी विकास कोषले यसलाई महत्व दिन नसक्दा अपेक्षित रुपमा यसको जिर्णोद्धार गर्न सकेका छैनौं ।’ रामग्रामको विकासको लागि लुम्बिनी विकास कोषले नै मुख्य पहल गर्नुपर्ने भन्दै सांसद जयसवालले स्थानीय तहबाट आफूहरुले सक्दो प्रयत्न गरिरहेको उल्लेख गर्नुभयो । उहाँले लुम्बिनी विकास कोषले रामग्रामलाई उपेक्षा गरेको गुनासो गर्नुभयो ।

विभिन्न स्थानमा आयोजना गरिएका कार्यक्रममा बर्दघाट नगरपालिकाका मेयर धिरज बस्याल, रामग्राम नगरापालिकाका उपमयेर रम्भा कुवँर, सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे, पालिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दिपक) साथै नेपाल पर्यटन पत्रकार संघ प्रदेश नं. ५ का अध्यक्ष भुुवन कार्की, नवलपरासी शाखा अध्यक्ष महोन पौडेल, उपाध्यक्ष नारायण भण्डारी, सचिव रमेश भूसाल लगायतले बोल्दै यी पर्यटकीय क्षेत्रको स्तरोन्नति तथा प्रचार–प्रसारका लागि संस्थागत सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

उक्त अवसरमा स्थानीय अगुवाहरु सुधामा महतो, इन्द्रजीत यादव, शम्भु उपाध्याय, माया अग्रहरी, मेघराज गौतम, मुक्तिप्रसाद पौडेल, शुरेश गुप्ता, दिपप्रकाश लोहोनी, उपेन्द्र प्रधान देविलाल डुम्रे, नारायण तिवारी लगायतले पनि पर्यटकीय क्षेत्रको थप विकासको लागि सञ्चारकर्मीको सहयोग आवश्यक रहेको चर्चा गर्नुभयो ।

यसैबीच नेपाल पर्यटन पत्रकार संघ प्रदेश नं. ५ को नवलपरासीमा बसेको प्रथम बैठकले विभिन्न निणर्य गरेको छ । निकट भविश्यमै प्रदेश नं. ५ भित्रका मुख्य पर्यटकीय स्थलहरुको विविरणसहित स्मारिका प्रकाशन गर्ने लगायतका विभिन्न निणर्यसहित सचिवालय समेत गठन गरिएको छ । बैठकले पदाधिकारीसहित रुपन्देहीका पत्रकारद्धय सीपी खनाल र स्वस्तिक श्रेष्ठलाई सचिवालय सदस्य चयन गरेको महिला उपाध्यक्ष विष्णु भण्डारीले जानकारी दिनुभयो ।