बेनीमा पर्यटन प्रर्वद्धन पदमार्ग निर्माण शुरु

  • प्रकाशित मिति : शनिबार, भदौ ९, २०७५
  • Tourism Sanchar

म्याग्दी , भाद्र ९ । सदरमुकाम बेनीमा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले प्रवासीसँगको सहकार्यमा पदमार्ग निर्माण शुरु गरिएको छ । बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) र म्याग्दी उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय साझेदारीमा जिल्ला सदरमुकाम बेनी बजारदेखि बेनपा–२ खबरास्थित लभ्लीहिल जोड्न निर्माण गर्न थालिएको पदमार्गलाई ‘मोना बेनी लभ्लीहिल पदमार्ग’ योजना नामाकरण गरिएको छ ।
५७ लाख आठ हजार २६० लाग्ने अनुमान गरिएको सो पदमार्गको ५१८ मिटर लम्बाइ र १.८ मिटर चौडाइ हुने, दायाँबायाँ दुवैतर्फ रेलिङ राखिने र आगामी ६ महिनाभित्र निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गरिने पदमार्ग निर्माण समितिका संयोजक उत्तम कर्माचार्यले बताउनुभयो ।
नगरपालिका, मोना र सङ्घको क्रमशः ५०, ४० र १० प्रतिशत लगानीमा निर्माण हुनलागेको सो पदमार्ग जन्मथलोको पर्यटन विकासका लागि विभिन्न देशमा रहेका म्याग्देलीबाट सहयोग सङ्कलन गरिएको मोनाका उपाध्यक्ष ओमनारायण जुक्जालीले बताउनुभयो ।

आरामदायी बेञ्च र गोलघरबाटै म्याग्दी नदी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनीबजार, पर्वतबेनीसँगै म्याग्दी र पर्वतका विभिन्न ग्रामीण गाउँबस्तीलाई एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ । गलेश्वरदेखि कालीगण्डकीको मनमोहक दृष्य, धौलागिरिलगायतका मनोरम हिमालको चुचुरो देखिने हरियाली र आकर्षक भू–बनोट अवलोकनका लागि लभ्लीहिल पुग्नेको सङ्ख्या बढ्दै गएको छ ।

– तश्विर: सन्तोष गौतमको फेसबुकबाट