न्वागी पर्व मनाउँदै चेपाङ समुदाय

  • प्रकाशित मिति : सोमवार, भदौ ४, २०७५
  • Tourism Sanchar

चितवन, भाद्र ४ । चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागी (छोनाम) यसपटक चितवनमा औपचारिक कार्यक्रम आयोजना गरी मनाउने तयारी गरिएको छ ।
नेपाल चेपाङ संघ केन्द्रीय समितिको शनिबार बसेको बैठकले यसबर्षको न्वागी पर्व भदौ २२ गते चितवनको कालिका नगरपालिका ८ शक्तिखोरस्थित चेपाङ बस्तीमा न्वागी मनाउने निर्णय गरेको हो । न्वागीमा नयाँ उत्पादित अन्न खानुअघि आफ्ना भगवानको रुपमा रहेका दिवंगत पितृलाई पुजा गरी चढाएर पुजाआजा गर्ने गरिन्छ । यसका लागि चेपाङ क्राँक्री (पाण्दे) हरुले एकपाखे ढ्याङ्ग्रो ठोक्दै कुखुराको बली चढाउने गर्दछन् ।
परम्परागत रुपमा झाँक्रीहरुले व्यक्तिगत रुपमा न्वागी मनाउँदै आएपनि संघले त्यस्तो चलन हराउँदै गएकाले औपचारिक समारोह आयोजना गरी न्वागी पुजा गर्दै आइरहेको छ । न्वागी कार्यक्रममा प्रदेशस्तरका मन्त्रीहरुलाई समेत सहभागी गराउने गरी तयारी थालिएको पूर्व सांसद तथा संघका पूर्व केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले बताए ।
संघले न्वागीलाई भब्यताका साथ सम्पन्न गर्नका लागि केन्द्रीय अध्यक्ष जीतेन्द्र चेपाङको संयोजकत्वमा ५ सदस्यीय समिति पनि बनाएको छ । सदस्यहरुमा महासचिव आइतबहादुर चेपाङ, गोविन्दराम चेपाङ, मकवानपुर अध्यक्ष खेमबहादुर चेपाङ र चितवन अध्यक्ष लक्ष्मण चेपाङ रहेका छन् ।

भूमि, नदी एबम् प्रकृतिको पुजा गर्दै आइरहेका चेपाङ चेपाङ समुदायमा पछिल्लो समय धर्म परिवर्तनको लहर चलेस“गै न्वागी मान्ने प्रथा हराउँदै जान थालेको छ । न्वागीप्रथा जोगाउनका लागि संघले संस्थागत पहल गरिरहेको अध्यक्ष जीतेन्द्र चेपाङले बताए ।

इच्छामनकामना न्युज