गोरखाको पर्यटकीय स्थल लिगलिग कोटलाई लक्षित गरी ऐतिहासिक ट्रेकिङ मार्ग निर्माणमा पहल

  • प्रकाशित मिति : सोमवार, भदौ ४, २०७५
  • Tourism Sanchar

टुरिजम संचार संबाददाता / गोरखा, भाद्र ४ । गोरखाको पालुङटारमा रहेको एक मात्र पर्यटकीय स्थल लिग लिग कोटमा अन्तराष्ट्रिय स्तरको म्युजियम बन्ने भएको छ ।
प्रदेश सरकार केहि समय अघि उक्त स्थान लिग लिग कोटमा पुगेर अन्तराष्ट्रिय स्तरको म्युजियम बनाउन लागेको प्रदेश सरकारका अर्थ तथा योजना मन्त्री किरण गुरुङले बताएका हुन । नेपाल कम्युनिष्ट पार्टीका प्रदेश प्रमुख समेत रहेका मन्त्री गुरुङले लिगलिग कोट ऐतिहासिक स्थल भएको र पुरातात्विक हिसाबले पनि लिगलिग कोटको महत्व रहेको भन्दै लिग लिगकोट पर्यटकीय स्थल भएकोले पनि यसको संरक्षण गर्न आवश्यक रहेको बताएका थिए ।
नेपालको इतिहासको प्रारम्भ बिन्दु नै लिग लिग कोट रहेको र ऐतिहासिक स्थल भन्नु नै पर्यटकीय हिसाबले महत्वपूर्ण स्थान भएको भन्दै प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेट विनियोजन गर्दा यसको ऐतिहासिक महत्वलाई हेरेर ऐतिहासिक म्युजियम बनाउनको लागी एक करोड बजेट बिनियोजन गरेको उनको भनाई छ । यस म्युजियममा बाइसे, चौबिसे राजा रजौटा देखि नेपाल एकिकरणका बेलामा प्रयोग गरिएका पोशाकहरु, त्यस समयमा प्रयोग गरिएका हातहतियारहरु, तत्कालिन समयका बारेमा लेखिएका इतिहासको सम्बन्धमा तयार पारिएका ऐतिहासिक बिषय वस्तु पढ्न मिल्ने किसिमको म्युजिम निर्माण गर्ने र यस्ता बिषयलाई समेट्ने संरक्षण गरीने जनाइएको छ ।
लिगलिग कोटलाई लक्षित गरेर चेपेघाट, लिग लिगकोट, भुसुन्ने फाँट हुदै गोरखा दरबार सम्मको ऐतिहासिक ट्रेकिङ मार्ग निर्माण गर्न सकिने देखिएको छ । लिगलिगकोट आसपासका कोटहरु राइनास कोट, कोट गढी लागायतका कोटहरुको संरक्षण गरी त्यसका ऐतिहासिक विषय वस्तुलाई दर्शाउन सक्नु पर्ने र पालुङटार आसपासका क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सकियो भने पक्कै पनि पालुङटारमा थप पर्यटक भित्रिने वातावरणको सिर्जना हुन सक्ने स्थानियहरुको भनाई रहेको छ ।
त्यस्तै मन्त्री गुरुङले अहिले प्रदेश सरकारले ४ नं. प्रदेशका तीन वटा विमान स्थलहरु पालुङटार, मनाङ र ढोरपाटन विमान स्थलको सम्भाव्यता अध्ययन गर्नका लागी बजेट बिनियोजन गरेको र यस क्षेत्रका विमान स्थलको सम्भाव्यता अध्ययन गरेपछि आएको रिपोर्टको आधारमा विमान स्थल सञ्चालन हुने नहुने विषयको निर्णय त्यस पछि प्रदेश सरकारले गर्ने बताएका थिए ।